News Griha :: न्यूजगृह
टीकापुरमा ३८ वर्षपछि विमान उडान

बाँके— कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।

सोमबार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको नाइन एन एबीयू नं र तारा एयरको नाइन एन–एइभी नं को विमान परीक्षण उडान गरिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए। उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए। तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल २०५२ पछिको द्वन्द्वकाल सुरु भएसँगै नियमित विमान सेवा रोकिएको थियो।

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि सोमबार नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १८:५२
Weather Update