News Griha :: न्यूजगृह
एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै 

काठमाडौं— अज्ञात समूहले बम राखिएको भन्दै हल्ला चलाएको एअरर इन्डियाको जहाजमा कुनै पनि विस्फोटक तथा खतराजन्य पदार्थ तथा हातहतियार नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकका अनुसार, यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला परेन। ‘नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले कुनै पनि खतराजन्य फेला पारेन,’ एसएसपी बिकले भने।

भारतमा रहेको एअरर इन्डियाको मुख्यालयमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइएको बमको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीले दिउँसो साढे ३ बजेदेखि जाँच थालेका थिए।

‘झण्डै २ सय जना सेना, प्रहरी र प्राधिकरणका कर्मचारीहरू सहितको टोलीले पौने ६ बजे जहाज, यात्रु र कार्गोको खानतलासी सक्यो,’ एसएसपी बिकले भने।

सुरक्षाकर्मीले उक्त जहाजका यात्रुहरू कप्तानलाई हस्तान्तरण गरिसकेको छ। यात्रु बोर्डिङ हुँदै छन्। केहीबेरमा जहाज दिल्ली उड्दैछ।

यो विमानबाट ५५ नेपालीसहित १ सय ५८ जना यात्रु दिल्ली जाँदैछन्। बम राखिएको सूचना आएलगत्तै सुरक्षाकर्मीले सबै यात्रुलाई एकै ठाउँमा राखेर खानतलासी सुरु गरेको थियो। यो विमानमा दिल्लीबाट १ सय ३७ यात्रु आएका थिए।

उनीहरु ओर्लेर गइसकेपछि सूचना आएकाले सुरक्षाकर्मीले दिल्ली जाँदै गरेका यात्रुलाई विमानबाट ओरालेर जहाज खाली गराई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार जहाज नियन्त्रणमा लिई बम रहे/नरहेको जाँच गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १८:३५
Weather Update