News Griha :: न्यूजगृह
पत्रिकामा खानेकुरा खाँदा लाग्नसक्छ दुईसय बढी रोग : ‘स्ट्रिट फूड’ व्यापारीलाई कडाइ गर्दै सरकार

काठमाडौं— ‘स्ट्रिट फूड’ बिक्रेताहरूले ग्राहकलाई पत्रिकामा खाना सर्भ गर्छन् । चना, चटपट, मकै, ससेज, तारेको आलु जस्ता खाद्य पदार्थहरू काठमाडौंका सडकमा निर्वाध रूपमा पत्रिकाको टुक्रामा हालेर बिक्री गरिन्छ । सर्वसाधारणले पनि सहजै पत्रिकामा खानेकुरा लिएर खाँदै हिड्छन् । 

चिल्लो र तारेको खानेकुराहरू ‘सर्भ’ गरिने यस्ता पत्रिकाहरू आफैँमा फोहोर हुन्छन् । धेरै जनाको हातमा पुग्ने पत्रिकामा स्वास्थ्यमा असर गर्ने थुप्रै ब्याक्टेरिया हुने स्वास्थ्यविद्हरू बताउँछन् । 

यसरी सडक व्यापारीहरूले खानेकुरा सर्भ गर्ने पत्रिका अधिकांश कवाडीबाट किन्ने गर्छन् । सस्तो पर्ने र भाँडा माझ्ने झन्झट नहुने भएपछि व्यापारीले खानेकुरा ‘सर्भ’ गर्न पत्रिका नै रोज्छन् । धुम्बाराहीमा रहेको ‘ठूलो कवाडी’ नामक कवाडी बेच्ने कम्पनीका अनुसार व्यापारीले ७५ रुपैयाँमा १ किलो पत्रिका किन्दै आएका छन् । 

‘सडकमा खाना सर्भ गरिने यस्ता पत्रिकाहरू निकै फोहोर हुन्छन् । कवाडीबाट सस्तोमा किलाको भाउमा उठाइने यस्ता पत्रिकामा राखेका खानेकुरा खाँदा स्वास्थ्यमा निकै असर पुर्‍याउँछ,’ काठमाडौं महानगरपालिकाका चिकित्सक डा. अवधेश झाले भने, ‘तातो, चिल्लो र पानीले गल्ने यस्ता पत्रिकामा टाँसिने खाले मसीको प्रयोग भएको हुन्छ । यस्ता पत्रिकामा सर्भ गरिने खानेकुरा खाँदा उपभोक्तालाई गम्भीर खालको स्वास्थ्य असर हुन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार फोहोर पत्रिकामा राखिएका खानेकुरा उपभोग गर्दा क्यान्सर जस्तो डरलाग्दो रोग लाग्न सक्छ । ‘तातो र चिल्लो खानेकुराले पत्रिकामा रहेको मसी पग्लिन्छ । पत्रिकामा हुने मसी मानिसका लागि खान योग्य हुँदैनन्,’ विभागले पछिल्लोपटक सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ, ‘यस्ता खानेकुराको उपभोग गर्दा मानिसमा अनेक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । र, त्यसले क्यान्सर जस्तो गम्भीर खालको रोग समेत निम्त्याउँछ ।’ यतिसम्म कि ‘आल्मुनियम फोइल प्लेट’मा खानेकुरा ‘सर्भ’ गर्दा समेत त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने विभागले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वका प्रत्येक १० मध्ये एकजनाले ‘स्ट्रिट फूड’को उपभोग गर्छन् । उनीहरूलाई त्यसबाट पर्ने स्वास्थ्य समस्याको बारेमा जानकारी हुँदैन । डब्ल्यूएचओको प्रतिवेदनअनुसार विश्वभर यस्तै खानेकुराको उपभोगमार्फत बर्सेनि ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । पत्रिकामा बेरेर बेचिने यस्ता ‘स्ट्रिट फूड’मा हुने ब्याक्टेरिया, भाइरस, प्यारासाइट, प्रियन्स र केमिकलले गर्दा त्यस्ता चिज उपभोग गर्ने व्यक्तिमा दुईसयभन्दा बढी प्रकृतिको रोग लाग्ने गरेको डब्ल्यूएचओले जनाएको छ । 

यकिन तथ्याङ्क छैन महानगरसँग 

काठमाडौं महानगरपालिकासँग ‘स्ट्रिट फूड’ बेच्दै आएका व्यापारीहरूको यकिन तथ्याङ्क छैन । ललितपुर र भक्तपुरमा रहेका यस्ता व्यापारीहरूको तथ्याङ्क पनि ती पालिकाहरूसँग छैन । तर, खुला आँखाले उपत्यकाका हरेक चोक र गल्लीमा यस्ता व्यापारीहरू प्रशस्तै देख्न सकिन्छ । बालबालिका, युवा देखि वृद्धवृद्धासम्मले पत्रपत्रिकामा दिइने यस्ता खानेकुराहरू संकोच नमानी खाइरहेका हुन्छन् । 

‘हामीसँग सडकमा खानेकुरा बेच्नेहरूको यकिन तथ्याङ्क छैन । यी व्यापारीहरूको सन्दर्भमा स्थानीय सरकारको तर्फबाट कुनै कार्यविधि पनि बनिसकेको स्थिति छैन,’ काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले भने, ‘अहिलेसम्म यस्ता व्यापारीहरूको लागि केन्द्र सरकारले पनि आवश्यक नियमन संयन्त्र बनाइसकेको छैन ।’ 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय स्थानीय सरकारहरूसँगको सहकार्यमा ‘स्ट्रिट फूड’ सम्बन्धी जनचेतना फैलाउने गरी कार्यक्रमको तयारी गरिरहेको आफूहरूलाई खबर आएको अधिकारीले जानकारी दिए । 

पत्रिकामा बेरेर खुला रूपमा बिक्रीवितरण हुँदै आएका ‘स्ट्रिट फूड’को विषयमा केन्द्र सरकारसँगको सहकार्यमा अब महानगरले काम गर्ने उनले जानकारी दिए । विशेषगरी काठमाडौं महानगरमा बेचिने ‘स्ट्रिट फूड’हरू अधिकांश पत्रिकामा बेरेर बिक्रीवितरण हुँदै आएको उनले बताए । ‘जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको कुरा सही हो,’ अधिकारीले भने, ‘अबको दिनमा हामीले यो विषयमा कार्यविधि नै बनाएर नियमन गर्ने योजनामा छौँ ।’

केन्द्र सरकारले बल्ल बनाउँदैछ कार्यविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सडकमा खुला रूपमा पत्रिकामा बिक्रीवितरण हुँदै आएको खानेकुराको सन्दर्भमा कार्यविधि बनाउन लागेको बताएको छ । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले सडकमा पत्रिकामा खानेकुरा बेच्न प्रतिबन्ध लगाउने गरी कार्यविधि बन्न लागेको जानकारी दिइन् । 

‘सडकमा बेचिने अधिकांश खानेकुरा फोहोर पत्रिकामा बेचेको पाइएको छ । यसले जनस्वास्थ्यमा ठूलो असर गरिरहेको छ,’ वैद्यले भनिन्, ‘अब यसरी पत्रिकामा खानेकुरा बेच्न विभागले रोक लगाउने छ र प्रत्येक स्थानीय सरकारहरूलाई पनि यो अभियानमा विभागले सहभागी गराउनेछ ।’ 

बिक्रेताहरूले चटपटे, मालपुवा, सेलरोटी, समोसा, दालमोठ, जेरी, पुरी जस्ता खानेकुरा पत्रिकामा बेरेर बेच्दै आएको वैद्यले बताइन् । साथै विभागले तरकारी र फलफूलको बिक्रीवितरण सम्बन्धमा पनि कार्यविधि बनाउन लागेको उनले बताइन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:१३
समसामयिक
Weather Update