काठमाडौं— जापानको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी एलडीपी नेतृत्वको गठबन्धनले संसद्मा बहुमत गुमाएको छ। अचानक भएको निर्वाचनबाट सत्ता गठबन्धनले खराब नतिजा भोगेको हो।
आइतबार भएको आवधिक निर्वाचनबाट विपक्षी दलले तल्लो सदनका आधाभन्दा बढी सिट जितेको छ। २२ सिटको परिणाम आउनुअघि सत्तारुढ एलडीपी नेतृत्व गठबन्धनले २०८ सिट मात्र जित्न सक्यो। जबकी विपक्षी पार्टीले २३५ सिटमा जित निकालेको छ।
४६५ सिट रहेको संसद्को तल्लो सदनमा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ। विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा सत्तारुढ दलका नेताहरूमाथि विभिन्न राजनीतिक घोटाला, भ्रष्टाचार लगायतका आरोपहरू लागेका छन्। यसले पार्टीको साख कमजोर हुन थालेपछी एलडीपीका नयाँ नेता तथा प्रधानमन्त्री शिगेरु इशिबाले आफू नेतृत्वमा आएलगत्तै आमनिर्वाचनको घोषणा गरेका थिए।
निर्वाचन परिणाम प्रतिकुल आएपछि उनले अब जनताको मत विनम्रताका साथ स्वीकार गर्ने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ। जापानमा शक्तिशाली मानिने तल्लो सदनमा बहुमत गुमे पनि सरकार भने फेरबदल नहुने बताइएको छ।