
खलङ्गा— दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ ।
त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए ।
उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ । ‘हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ अनि मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ’, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डीएसपी भट्टले भने ।
अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।
सङ्कलक केही दिनअघि यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ उक्लिएका व्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताए । ‘लगातार हिउँ परिरहेको थियो,सङ्कलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा सङ्कलन गर्न जान सकिरहेका थिएनन’,उनले भने ।
व्यासस्थित सितापुलबाट समेत प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।













