News Griha :: न्यूजगृह
नेपालमा पहिलोपटक एआई सम्मेलन
कार्यक्रममा रोबोटसँग हात मिलाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं— नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन्। अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए।

उनले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

‘नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ। यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ,’ अध्यक्ष थेबेले भने, ‘सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ।’ उनका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन्।

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए। उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउनेछन्। 

युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १३:०८
Weather Update