News Griha :: न्यूजगृह
मेलम्चीबाट आएको ८ करोड लिटर पानी बागमतीमा

काठमाडौं— मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि बागमती नदीमा पठाइएको छ।

मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ। जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।

‘प्रशोधन केन्द्रको क्षमता १७ देखि १८ करोड लिटर हो,’ उनले भने, ‘बढी पानी आएपछि बागमतीमा पठाइएको हो ।’ उनका अनुसार पहिला बागमतीबाट ५ करोड पानी प्रशोधन केन्द्रमा ल्याइन्थ्यो। अहिले त्यो पानी पनि प्रशोधन केन्द्रमा नल्याइएको उनको भनाइ छ। ‘पानीको अहिले समस्या छैन,’ उनले भने, ‘मेलम्चीको पानीले बागमती नदीको बहाव पनि बढाएको छ।’

तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी मङ्गलबारदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानी मन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए। बर्खाका कारण बन्द गरेको तीन महिनापछि असोज २२ बाट पानी वितरण गरिएको हो।

उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । पर्याप्त पानी भए पनि भौतिक संरचना नहुँदा बढी पानी बागमतीमा बगाइएको हो। मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गरेको चार वर्ष बित्न लाग्दा पनि सरकारले काठमाडौं उपत्यकामा निरन्तर पानी पठाउने योजना बनाउन भने सकेको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:२३
Weather Update