लमजुङ— सहकारी ठगीमा संलग्न सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन्।
सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने उनको भनाइ थियो।
लमजुङमा शनिबार मन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताएका हुन्।
रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताएका हुन्।
‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ। यही क्रममा ६ सय जनाजति अनुसन्धानको दायरामा आएर पक्राउ परेका छन्। रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्। कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ मन्त्री गुरुङको भनाइ थियो।
सरकार सुशासनमा दृढताका साथ अघि बढेको दाबी गर्दै मन्त्री गुरुङले उक्त अभियान रोक्न खोज्नेहरू सफल नहुने बताए। दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ थियो। ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने।
अपराध गर्ने जोकोही पनि अब बच्न नसक्ने तथ्यलाई आत्मसात् गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको मन्त्री गुरुङको भनाइ थियो।