काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ।
प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृह अगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए।
यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ। जुलुस रहँदासम्म यी सडकमा यातायात अवरुद्ध हुने कार्कीले बताए।
काठमाडौंमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने उनले बताए। शनिबार काठमाडौंमा माओवादी केन्द्रले सरकारको कामकारबाहीका विरुद्ध विरोध प्रदर्शन गर्दै छ। विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै टीयू गेट तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ।
उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुनर्बहालीको माग गर्दै गोङ्गवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ।