News Griha :: न्यूजगृह
इजरायलले इरानमा गर्‍यो आक्रमण

काठमाडौं— इजरायलले इरानमा समेत आक्रमण गरेको छ। गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो।

इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले आफ्ना लडाकु विमान इरानका सैन्य क्याम्पमा हमला गरी सुरक्षित रुपमा फर्किएको बताएका छन्। ‘इरानका कैयौँ इलाकामा सटिक हमला पूरा भएको छ,’ प्रवक्ता हगारीले भनेका छन्, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्णरुपमा सक्रिय छन्। हामी इजरायल राष्ट्र र जनताको रक्षाका लागि जे आवश्यक पर्छ त्यो गर्छौं।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार इजरायलले शनिबार बिहान पाँच बजेसम्म इरानमा आक्रमण जारी राखेको थियो। इरानका सरकारी मिडियाहरुले राजधानी तेहरानमा धेरैपटक विष्फोटका आवाज सुनिएको जनाएका छन्। समाचार एजेन्सी रोयटर्सले भने तेहरानमा विष्फोटका आवाज सुनिनुमा इरानको हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुको कारण मानेको छ।

तर, इजरायलले कस्ता खालका सैन्य क्याम्पमा आक्रमण गरेको छ र त्यो आक्रमणबाट क्षति कति भयो भन्ने विवरण भने खुलेको छैन। समाचार एजेन्सी एएफपीका अनुसार तेहरानका दुई अन्तर्राष्ट्रिय विमानस्थल भने सामान्य तरिकाले सञ्चालन भइरहेका छन् ।

अमेरिकाले पनि इजरायलले इरानमा गरेको आक्रमणबारे जानकार रहेको जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ताले सीबीएस न्यूजसँग कुरा गर्दै भनेका छन्, ‘इरानले १ अक्टुबरमा गरेको आक्रमणको जवाफ स्वरुप इजरायलले पनि आत्मरक्षा कारबाही गरेको हुनसक्छ।’

इजरायलले इरानमा आक्रमण गरेपछि इराकले हवाई क्षेत्र बन्द गरेको छ। इरानको पश्चिमी सिमाना इराकसँग जोडिएको छ। इराकको सरकारी समाचार एजेन्सी आईएनएका अनुसार क्षेत्रीय तनावलाई मध्यनजर गर्दै इराकको एयर ट्राफिक र सबै विमानस्थलको सेवा बन्द गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ११:३१
Weather Update