News Griha :: न्यूजगृह
वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृतले २० लाख रुपैयाँ घुस लिएको आरोप, छानविन गर्न समिति गठन

काठमाडौं— श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई छानविन गर्न बिहीबार मन्त्रालय तानेको छ।

डेर्नमाकको अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक ब्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिद सहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानविनको लागि मन्त्रालय तानेको हो। मन्त्रालयले उनीमाथि छानविन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

‘एकजना ब्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतनिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन्। त्यो उजुरीमाथि छानविन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको हो। त्यसको विषयमा छानविन गर्न समिति बनाइएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने।

उप्रेतीमाथि बोर्डमा आफ्नो निकट आफन्तलाई अधिकृतस्तरको कर्मचारी भर्ना गर्ने प्रक्रियामा निजी ल्यापटपबाट परीक्षा दिन लगाएको आरोप पनि लागेको थियो।

‘उहाँले बोर्डको कार्यसम्पादनलाई गम्भीरता पूर्वक काम गरिराख्‍नु भएको थिएन। सधैँ विवादै विवादमा घेरिनु भइरहेको थियो। पछिल्लो पटक गम्भीर प्रकृतिको आरोप लागेपछि मन्त्रालयले छानविन गर्न लागेको हो,’ ती अधिकारीले भने।

उनीमाथि यसअघि नै परेको उजुरीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:१०
Weather Update