News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्‌ बैठकमा ऊर्जामन्त्रीको ब्रिफिङ : 'क्याबिनेट निर्णय नभए घिसिङले उद्योगको लाइन काट्छु भनेका छन्'

काठमाडौं— नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगको बारेमा मन्त्रिपरिषद्बाट निर्णय नभए पूर्व सूचना अनुसार लाइन काट्ने अडान कायम राखेका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक घिसिङले बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने अडान राखेको ब्रिफिङ गरेका थिए। मन्त्रिपरिषद्बाटै बक्यौता नतिर्ने उद्योगको विषयमा निर्णय गर्नुपर्ने र त्यसो नभएमा बिहीबार रातिदेखि नै लाइन काट्नमा घिसिङ अडिग रहेको खड्काले जानकारी गराएका थिए।

मन्त्री खड्काले मन्त्रिपरिषद्‌मा गरेको ब्रिफिङ उल्लेख गर्दै एक मन्त्रीले भने, 'सञ्चालक समितिका भएका कुराबारे मन्त्री खड्काले क्याबिनेटमा ब्रिफिङ गर्नुभएको थियो। प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई आजसम्म डेडलाइन दिएको रहेछ। उद्योगीहरूले बिल ल्याए बक्यौता तिर्छौँ भन्नुभएको छ, कार्यकारी निर्देशक घिसिङले बिल दिइसकेको हो बक्यौता तिर्नुस् भन्नुभएको छ भन्ने मन्त्री खड्काको ब्रिफिङ थियो।'

अर्का मन्त्रीले भने बक्यौता नतिरे उद्योगको लाइन काट्नेमा घिसिङ अडिग रहेको ब्रिफिङ ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद् बैठकमा गरेका थिए। 'लाइन नकाट्ने भए उद्योगका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुस् भन्नुभएको छ। क्याबिनेट निर्णय गर्नुस्, नगरिए लाइन काट्छौँ भन्ने घिसिङको भनाइ छ,' मन्त्री खड्काले मन्त्रिपरिषद्मा भनेका थिए, 'मैले सार्वजनिक लेखा समितिमा यो विषयमा छलफल चलिरहेको छ, त्यहाँबाट निर्णय भएपछि कुरा गर्नुपर्छ भनेको छु। तर घिसिङले क्याबिनेट निर्णय गर्नुस् भन्नुभयो, नत्र आज रातिदेखि लाइन काट्छौँ भन्नुभएको छ।'

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपभोग गरी बक्यौता नतिर्ने उद्योगी र प्राधिकरणका कार्यकारी प्रमुख घिसिङका विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय भइनसकेको ती मन्त्रीहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा थप छलफल गर्ने ती मन्त्रीहरूले जानकारी दिएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:४३
Weather Update