काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ। जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
‘ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ,’ मरासिनीले भने। सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो।
रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्। पहिलो पटक पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ।
यसअघि गत वैशाखमा इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रूपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो। जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ।
जसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको थियो। यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको थियो।
गोर्खा मिडिया नेटवर्कले २०७७ फागुन ११ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो। गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए। त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो।
टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै २०७८ पुस ७ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए। त्यो बेला राईसँग ८० प्रतिशत र रविसँग १५ प्रतिशत शेयर थियो।