
काठमाडौं— बंगालको खाडीमा विकसित चक्रवात आँधी ‘दाना’को प्रभाव नेपालमा पनि परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार कोशी प्रदेशमा त्यस चक्रवातको आंशिक प्रभाव परिरहेको हो।
‘त्यसको धेरै ठूलो प्रभाव परेको होइन, आंशिक प्रभाव मात्र परिरहेको हो कोसीमा’, उनले भने, ‘यसले अलिअलि बादल ल्याइरहेको छ जसका कारण मौसम बदली भइरहेको छ। कोशीमा आज फाटफुटसम्म वर्षा गराउन सक्छ।’
हाल उक्त चक्रवात बंगालको खाडी अर्थात् समुद्रमै रहेको उनले बताए। ‘त्यो ल्यान्डफल भएपछि (जमिनमा ठोकिएपछि) भने त्यसको आंशिक प्रभाव मधेस र बागमती प्रदेशसम्म पर्नसक्छ,’ उनले भने।
तर अहिलेसम्मको अनुमानमा त्यस चक्रवातको खासै ठूलो प्रभाव नेपालमा पर्ने नदेखिएको मौसमविद् अधिकारीको भनाइ छ।
भारतमै चाहिँ यसले वर्षासँगै हावाहुरी गराउने भएकाले क्षति पुर्याउन सक्ने उनले बताए। यसैबीच भारतीय सञ्चारमाध्यमले उक्त चक्रवात आज पश्चिम बंगाल र ओडिसाका तटीय क्षेत्रमा पुग्न सक्ने उल्लेख गरेका छन्।
पश्चिम बंगाल र ओडिसाका सरकारले चक्रवात दानासँग लड्न तयारी पूरा भएको बताएका छन्। ‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ।
सावधानीका रूपमा पश्चिम बंगाल र ओडिसाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्मका लागि बन्द गरिएका छन् भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ।













