काठमाडौं— नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ।
देशभर डेङ्गुको सङ्क्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।
नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले भने, ‘हामीसँग सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ।’
उनका अनुसार डेङ्गु सङ्क्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन्। सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ।
यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो। सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो।