काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् ।
मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैठौँ सञ्चार तथा सूचना प्रविधि दिवस मुल समारोहमा मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।
उनले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको बताइन् । त्यस्तै सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी दिइन् ।
मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको स्पष्ट पारिन् ।
‘कानुन निर्माणलाई पारदर्शी बनाउन मन्त्रालयको वेबसाइटबाटै मस्यौदा सार्वजनिक गरेर जनताको राय सुझाव लिने परिपाटीको पनि थालनी गरेका छौँ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ,’ उनले भनिन् ।