News Griha :: न्यूजगृह
बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै

सुनसरी— वर्षायाममा बाढी आउँदा सप्तकोशीको राक्षसी रूप देखिन्छ। पूर्वी पहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढने बित्तिकै सप्तकोशी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रित हुन्छ।

वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोशी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन्। यी टापु देख्नेले भन्छन्, 'नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षातमा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमाम बनाउन थाल्यो।'

सप्तकोशी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ। नेपाली कांग्रेस इनरुवाका उपसभापति प्रदिप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायको समेत ध्यान नगएको बताए।

सुनकोशी, दूधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुप्रिँदै गएपछि नदीको गहिराइ कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ।

सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराइ कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताए।

बराहक्षेत्र–९ का भीम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउँछन्।

'पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोशीमा पानीको मात्रा बढ्ने गरेको छ। नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ। बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हुँदै जादा यहाँ बालुवाका टापु बनेका छन्। पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन,' उनले भने।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ। सप्तकोशी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोशी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताए।

नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ। ९ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि १ लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताए।

कोशी योजना विराटनगरका सम्पर्क तथा सह भू–आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोशी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउँछन्। समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ।

'२०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोशी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ,' पौडेलले भने।

सप्तकोशी नदीमा गत भदौ २४ गते राति ६ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोशी ब्यारेजमाथि रोड भएर बगेको थियो। यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०५:१७
Weather Update