काठमाडौं— झापाको केर्खामा सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।
कमल गाउँपालिकास्थित पुर्वपश्चिम राजमार्गमा पर्ने केर्खामा दुर्घटनामा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए।
मृत्युपछि उनीहरूको शव सडकमै छ। स्थानीयले अहिले राजमार्ग अवरोध गरेका छन्। नजिकै रहेको प्रहरी बिटमा पनि आगजनी गरेका छन्। प्रहरी चौकी केर्खामा स्थानीयले ढुङ्गामुढा गरिरहेका छन्। केर्खामा सशस्त्र प्रहरीसहित, नेपाल प्रहरीको थप टोली घटनास्थलमा पुगेको छ।
सोडारीका अनुसार साँझ ५:३० बजेतिर काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई नियन्त्रणमा लिएको छ।