
काठमाडौं— दसैँपछि काठमाडौं उपत्यकामा चिसो बढे पनि डेङ्गु सङ्क्रमण रोकिएको छैन। चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण धेरै नघटेको चिकित्सकहरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेका अनुसार दसैँपछिका केही दिनमा डेङ्गुका बिरामी ह्वातै बढेका थिए।
‘तीन दिन अगाडिसम्म हामी कहाँ दैनिक २०–२२ जना भर्ना भएका थिए । तर आजभोलि बिस्तारै बिरामी कम हुँदै गएका छन्,’ चालिसेले भने। उनका अनुसार आगामी एक महिनासम्म डेङ्गु सङ्क्रमणको जोखिम कायमै रहन्छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस साता सातै प्रदेशका स्वास्थ्यमन्त्री र स्थानीय निकायका प्रतिनिधिसँग डेङ्गु नियन्त्रणबारे छलफल गरेका छन्। बैठकमा लामखुट्टे नियन्त्रणका लागि सम्बन्धित निकायलाई पुनः सक्रिय गराउने निर्णय भएको छ।
यसवर्ष हुम्लाबाहेक ७६ जिल्लामा डेङ्गु सङ्क्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशभर २२ हजार भन्दा बढी व्यक्ति डेङ्गु सङ्क्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार वर्षापछिको तापक्रम लामखुट्टेका लागि अनुकुल हुने र दसैँको बढ्दो आवतजावतले सङ्क्रमण फैलिन सघाएको छ।













