महोत्तरी— रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ।
औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए।
जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो। गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास–औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो।
मृतक मोटरसाइकलमा सवार थिए। नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले जाँच गर्नुका साथै हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो।