News Griha :: न्यूजगृह
बालुवाटार बैठक:  राष्ट्रिय मुद्दामा एकढिक्का बन्ने निष्कर्ष

काठमाडौं— सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बुधबारको बैठकमा सरकारको एकसय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एकसय दिन पुगेको अवसरमा बुधबार दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धीबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराए।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानविन समितिबाट सर्वसम्मत रूपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए।

उनले फौजदारी घटनामा न्यायिक छानविन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए।

यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानविन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरूपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ।

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि बुधबारको बैठकबाट तय भएको सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:०२
Weather Update