News Griha :: न्यूजगृह
सिरिया–लेबनानका नेपाली शान्ति सैनिकको उद्धार योजना बन्दै छः प्रधानसेनापति
प्रधानसेनापति अशोकराज सिग्देल।

काठमाडौं— प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपतकालीन उद्धार गर्न योजना तयार भइरहेको बताएका छन्।

रक्षा मन्त्रालयमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र त्यहाँ नेपाली शान्ति सेना अवस्थित रहेको भन्दै उनीहरूलाई आपतकालीन उद्धार आवश्यक भए उद्धारका लागि आपतकालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।

उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हेजबुल्लाहबीच युद्ध जारी छ। संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहे पनि सुरक्षित रहेको बताए। 

‘५२ जना सिरियामा छन्। १ हजार ३२९ जनाको फौज शान्ति सेनामध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरू भनेको केही मात्रै छन्‚’ उनले भने, ‘उनीहरूको सुरक्षाको दृष्टिकोणले लडाइ भइरहेको ठाउँ हो। उनीहरु द्वन्द्वको बीचमा छन्। गोली हानाहान भइरहेको क्षेत्रमा छन् तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन्। हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ।’ 

उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:३२
समसामयिक
Weather Update