News Griha :: न्यूजगृह
भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै

काठमाडौं— भिस्टाराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। मंगबालर दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण भएको भिस्टारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

नागरिक उड्ड्यन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, ‘साढे ४ बजेदेखि सुरु भएको जहाज जाँच ७ बजे सकिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा जहाजमा कुनै पनि बम भेटिएन ।’  सहप्रवक्ता भूलका अनुसार यस्तो खालको बमको धम्कीलाई ‘होक्स कल’ भनिन्छ।

भिस्टाराको जहाज अब यात्रु लिएर काठमाडौंबाट दिल्लीका उड्ने तयारी रहेको समेत सहप्रवक्ता भूलले बताए।

अज्ञात समूहले भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिनेक्रम मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्टाराले पनि खेपेको हो ।

बमको खबरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्टाराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।

जहाज अवतरण भएलगत्तै बम राखिएको खबर भिस्टाराको काठमाडौंस्थित कार्यालयमा कार्यरत भारतीय कर्मचारी सुमन शर्मालाई आएको थियो। स्रोतका अनुसार, शर्माले जहाज अवतरण भएलगत्तै दौडेर टर्मिनल कार्यालयलाई अज्ञात नम्बरबाट आफ्नो जहाजमा बम राखिएको फोन आएको जानकारी दिएका थिए ।

कुनै पनि वायुयानमा बमको हल्ला प्राप्त भएपछि जहाजलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई बम रहे नरहेको यकिन गर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १९:३५
समसामयिक
Weather Update