News Griha :: न्यूजगृह
जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्: माधव नेपाल

कपिलवस्तु— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन्। ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्,’ उनले भने।

सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए।

‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो।’

विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए। तर, एकता भने नगर्ने उनले सुनाए। माओवादी र एमालेमा आफूहरू जान लागेको हल्लामात्रै भएको उनको दाबी थियो। चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालको दाबी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २०:०९
Weather Update