News Griha :: न्यूजगृह
पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

काठमाडौं— सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रूपन्देही लगिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रूपन्देही पठाइएको हो। कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई रूपन्देही पठाएको न्यूजगृहलाई बताए।

‘बयानका लागि रूपन्देही पठाएका हौँ । बयान सकिएपछि फेरि पोखरा नै फिर्ता हुनुहुन्छ,’ एसपी ओलियाले भने।नेकपा एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो। भदौ ३१ मा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै असोज ६ मा जोशी काठमाडौंबाट पक्राउ गरेका थिए।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्। उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन्। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि रूपन्देही लगिएको हो। सुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ।

जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुला रहेको छ। सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:१५
Weather Update