News Griha :: न्यूजगृह
गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, भेषबहादुर बने वनमन्त्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। फाइल तस्बिर।

पोखरा— लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी दिएका थिए।

तर मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि शेखर कोइराला–गगन थापा समूहबाट भेषबहादुरले मन्त्री हुने अवसर पाएका हुन्।

मुख्यमन्त्री पाण्डेले लामो रस्साकस्सीपछि भदौ १७ मा एमालेलाई सरकारमा सहभागी गराएका थिए।

एमालेले मनाङेलाई हटाउनुपर्नेमा जोड दिएको थियो। तर आफूलाई अप्ठ्यारोमा विश्वासको मत दिएको भन्दै गठबन्धन बाहिरका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका मनाङेलाई नहटाउने अडान लिए।

७ बाट बढाएर ९ मन्त्रालय बनाउँदै एमालेलाई ४, कांग्रेसलाई ३ मन्त्रालय दिने सहमति भयो। तर वन मन्त्रालयको कुनै औचित्य नरहेको भन्दै मनाङेले मन्त्री पदबाट राजीनामा दिए।

मनाङेले राजीनामा दिएको ५० दिनपछि भेषबहादुर मन्त्री बने। यसअघि सरकारमा संस्थापन पक्षका मात्र नेताहरु थिए। शेखर–गगन समूहले जसरी पनि एक जना मन्त्री सहभागी गराउनैपर्ने दबाब दिएका थिए, तर गठबन्धनमा सहमति नभएको भन्दै टारेका थिए।

मुख्यमन्त्री पाण्डेले शेखर–गगन समूहकै आग्रहमा भेषबहादुर मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:२३
Weather Update