News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने ओलीले पुष्टि गरे, सयदिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छः प्रचण्ड

जुम्ला— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओेली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। सरकारी जग्गा जबर्जस्ती व्यक्तिका नाममा लैजाने व्यवसायीबाट जग्गा दान लिएर ओलीले भ्रष्टाचारीको संरक्षण गरेको दाहालको आरोप छ।

जुम्लाले सिंजा कनकासुन्दरीमा सोमबार पत्रकार भेटघाट कार्यक्रममा दाहालले कांग्रेस र एमाले गठबन्धनमा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाइरहेको बताए। आफूले भ्रष्टाचारीलाई जोगाउन ओलीको नेतृत्वमा सरकार गठन भएको भनेको कुरा प्रधानमन्त्री ओलीले पुष्टि गरेको दाहालको भनाइ थियो।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ,’ दाहालले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिको नाममा लाने जस्तो ठगी गरेको कारणले गिरफ्तार गरेको व्यवसायी, उनलाई अदालतमा मुद्दा चलाइएको छ। त्यस्ताबाट दानको नाममा जग्गा लिने काम प्रधानमन्त्रीले गरेपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैँले पुष्टि गरेको स्थिति छ।’

दाहालले सरकारको नेतृत्व गरिरहेको एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दानमा लिएको प्रसङ्ग उल्लेख गरेका हुन्। गुरुङले एमालेको केन्द्रीय कार्यालय दानमा बनाइदिने घोषणा गरेका छन्। उक्त जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगै गुरुङले केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए। गुरुङ अदालतबाट भ्रष्टाचारी ठहर भएका व्यक्ति हुन् भने उनीविरुद्ध अदालतमा अन्य मुद्दा विचाराधीन छन्।

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो। उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि जानकारी दिए। ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले 'हनिमुन पिरियड' मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ। आजमात्रै हामी विपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्,’ उनले भने।

सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेका बेला संसद्का पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिक रुपमा आफूलाई हटाएको दाहालको भनाइ थियो। ‘देशमा महत्त्वपूर्ण उपलब्धि भइरहेका बेला, हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि, खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविक रुपमा सरकार बनाइयो,’ उनले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:५५
Weather Update