News Griha :: न्यूजगृह
दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिदिएको छ। सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिको लाइसेन्स खारेज गरिएको जनाएको हो।

सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) अनुरूप लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ। दूरसञ्चार ऐनको दफा २८ (१) मा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिएबमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरणले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्ने उल्लेख छ।

पर्सास्थित वीरगञ्ज–१६ को सी‍.डाटा कम्युनिकेसनले २०७६ माघ १९ मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो। प्राधिकरणले कात्तिक २ देखि नै लागू हुने गरी लाइसेन्स खारेज गरिएको जनाएको छ।

त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर–६ को लाइफ नेट प्रालिले अनुमतिपत्र नवीकरणका लागि समयावधिभित्र निवेदन पेस नगरेकाले भदौ ३० देखि लाइफ नेटको लाइसेन्स स्वतः रद्द भएको जानकारी गराएको छ।

‘उक्त प्रालिले नियमानुसार तिर्न र बुझाउनुपर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘अन्यथा, प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत जानकारी गराइन्छ।’ लाइफ नेटले २०७६ भदौ ३० मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो।

दूरसञ्चार ऐनको दफा २५ (५) अनुसार तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ। दूरसञ्चार ऐनले अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:४९
Weather Update