News Griha :: न्यूजगृह
जात्रा पर्वमा नेताविरुद्ध नाराबाजीप्रति प्रधानमन्त्रीको असन्तुष्टि

 काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरूमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन्।

उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए।

गत १० भदौमा गौर पर्व मनाउन प्रधानममन्त्री टुँडिखेल पुग्दा प्रधानमन्त्री ओली र शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको थियो। त्यस्ता घटनाप्रति प्रधानमन्त्रीको असहमति छ। प्रधानमन्त्री निवास, बालुवाटारमा ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए।

‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ, तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ। यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने। इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्काउपूर्ण गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।

उनले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा पनि गरे। सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयन गर्न माग गरे।

उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे। राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए।

सरकारले २०६५ मा साख्वा: लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ। उक्त दिन बिहान भक्तपुरको मध्यपुर ठिमीस्थित साख्वाःको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ।

समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:४२
Weather Update