News Griha :: न्यूजगृह
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

रामेछाप— फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ।

मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन्। 

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएका छन् भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन्। तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ। लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरे।

सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए। एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिइरहेका छन्। उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको बताए। उनले भने, 'लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ।'

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौंसम्म जाने गरेको छ। उनले ड्रागन फ्रुट प्रतिकिलो तीन सय ५० र सयपत्री फूल प्रतिकेजी दुई सय ५० मा बिक्री सुरु गरेका छन्। यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:४३
Weather Update