News Griha :: न्यूजगृह
मोरङको प्रहरी इन्चार्जमा सरुवा भएका लिम्बूको काज रद्द, चिमरियालाई पठाइने

काठमाडौं—  जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ।

कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो। तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो। उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ। नवराज कार्की २०८० फागुन २ मा सरुवा भइ मोरङ गएका थिए।

चिमरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए। राजन लिम्बूलाई मोरङ पठाउन नेपाल कांग्रेसका नेताहरू असहमत भएका छन्। लिम्बू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए।

उनी ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए। त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन्। उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:५५
Weather Update