News Griha :: न्यूजगृह
क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री खेलाडीलाई शुभकामना दिँदै भने,‘एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डको निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीलाई हौसला बढाउन खेल मैदान पुगेका थिए । उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

मंगलबार सम्पन्न एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (यूएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:४१
Weather Update