News Griha :: न्यूजगृह
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं— गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। 
गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन्। आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन्।

आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक 'भ्वाइलेन्स रेकर्ड सिस्टम'को सुरुआत गर्दै गृहमन्त्री लेखकले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरेका थिए।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ। अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न। अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ, छानबिन हुन्छ। हेर्नुपर्ने निकायहरूले हेर्दछन्,’ लेखकले भने, ‘आफू गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठीक हो भन्ने ढगले जानुहुन्न। ट्राफिकमा पनि म त्यो देख्छु, कहीँ प्रहरीको कमजोरी हुन्छन् । त्यस्तो गर्ने मानिसलाई पनि सम्झाइबुझाइ गरेर प्रहरीले ठीक ढंगले सेवा दिनुपर्छ।’

ट्राफिक प्रहरीले ट्राफिक नियमबारे सचेतना फैलाउन जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ छ। विद्यालय र समुदायसँग जोडिएर ट्राफिक नियमका बारेमा सचेतना अभियान चलाउनुपर्ने उनको सुझाव छ। सरकारले सुशासनका काम प्रभावकारी बनाउन प्रविधिमा जोड दिनुपर्ने पनि गृहमन्त्री लेखकले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:३३
Weather Update