News Griha :: न्यूजगृह
कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कास्की— कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो। तर अहिले घुमफिर गर्नुलाई उनी आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्छन्। शर्मा निस्फिक्री यात्रा गर्छन् तर खास ध्येयका साथ । 

यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन्। यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गरे। चार दिनपछि धवलागिरि हिमालको फेदमा पुग्ने उनको योजना छ।   

पाँच हजार मिटर उचाइ माथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उनले सुनाए। पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरू बाटो लागेको शर्माले बताए। उनी बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुगेका थिए।

बीचबाटोमा होटल–चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताए। सोलुखुम्बुको आइल्याण्ड पिक चढिसकेका उनलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ।  

तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उनी सतर्क छन्। ‘अबको एक साताभन्दा बढी समय हामी सम्पर्कविच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ,’ उनले सुनाए। मार्फापट्टिबाट छोटो दूरी पर्ने भएकाले आफूहरूले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताए।    

धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धन हेतु तस्बिर र भिडिओ सामग्री सङ्कलनका उनी त्यसतर्फ जान लागेका हुन्। शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ। पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उनी पुगेका छन्। घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गरे। 

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरूको समूह हो। सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए। सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो। उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ।

शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडिओ सामग्री तयार पार्दै आएका छन्। ‘विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु,’ उनले भने, ‘फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:०१
Weather Update