कपिलवस्तु— काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुनसहित सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
गुल्मी चन्द्रकोट नगरपालिका–८ बस्ने प्रियङ्का थापा सुवेदी गत असोज ३० काँकडभिट्टाबाट आउँदै गर्दा नगद, सुनको औँठी, क्रेडिट कार्ड र नागरिकतासहित सामान रहेको झोला बस मै छुटेको थियो।
नगदसहितको झोला बसमा छुटेको जानकारी प्रियङ्काले वडा प्रहरी कार्यालय, चन्द्रौटामा कार्तिक १ मा जानकारी गराएकी थिइन्। प्रहरीले अनुसन्धान र खोजबिन गर्दा उक्त झोलासहितको नगद दिनभरि लगाएर खोजेको थियो। प्रियङ्का र उनी आमा बसबाट कपिलवस्तुको बोर्ड गाउँमा ओर्लिएका थिए।
पिसाबले च्यापेर अतालिएकी उनी ओर्लिने बेला बसमा छुटेको थियो। बोर्डगाउँसम्म बसमा ६ यात्रु थिए। त्यसमा दुई जना पछि र चार जना अघि थिए। पछि बसेका दुईमध्ये एक जनाले उक्त झोलासहितको नगद लिएर झरेको पत्ता लागेपछि अनुसन्धान सुरु गरेर सफलता हात लागेको वडा प्रहरी कार्यालयका नायब निरीक्षक नवराज शाहीले बताए।
शिवराज नगरपालिका–६ का बसीर चुरैटाले झोला लगेका थिए। प्रहरीसँग सम्पर्कमा आएपछि उनले नगद दिएका थिए। नगद आफूले लगेर झोला बाटोमा फालिदिएका थिए। पछि प्रहरी गरेर खोजेर झोला पनि बरामद गरेको थियो।
झोलामा पौने तोलाको सुनको औँठी, नागरिकता, परिचय पत्र, एटीएम कार्ड रहेको थियो। रोजगारीको सिलसिलामा भारतको सिक्किम बस्ने उनी गर्भवती भएपछि सुत्केरीका लागि माइती आएकी हुन्। प्रहरीको सहयोगमा झोला सहितको नगद पाउन सफल भएपछि प्रहरीको कामको प्रशंसा गरेकी छिन्।