News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप

पोखरा — सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ । 

असोज ६ मा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले असोज १७ देखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

दसैँ बिदाका कारण असोज १७ पछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले असोज ६ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०२:३१
Weather Update