News Griha :: न्यूजगृह
सहकारी ठगीमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

पोखरा —सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए।

अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो।

सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन्।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा असोज ६ मै पूर्व डीआईजी समेत रहेका जोशी पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान लिएको छ।

पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई व्यापारिक साझेदार हुन्। उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ। लामिछाने गोर्खा मिडियाका निर्देशक थिए।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ। लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन्। उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:३१
Weather Update