News Griha :: न्यूजगृह
स्वास्थ्य स्वयंसेवीकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने, निःशुल्क चढ्न पाउने

काठमाडौं— महिला स्वास्थ्य स्वयंसेवीकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच यससम्बन्धी सम्झौता भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे। सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए। 

उनले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे। उनले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

‘उहाँहरूलाई कसरी काम गर्ने वातावरण निर्माण गर्न सकिन्छ? उहाँहरूको सम्पूर्ण सक्रियताअनुसार उपलब्धिहरू दिने स्थिति कसरी दिन सकिन्छ भनेर मन्त्रालयले उहाँहरूलाई यातायातको सुविधा निःशुल्क उपलब्ध गराउन‚’ उनले भने, ‘यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर ज्यूले हाम्रो प्रस्तावमा सघाउँदै सुविधा दिनुभयो। समझदारीअनुसार महिला स्वास्थ्य स्वयंसेवीलाई उहाँहरूको कार्यक्षेत्रमा निःशुल्क यातायातको प्रबन्ध गर्ने सम्झौता पूर्णरुपमा लागू हुनेछ।’

कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरु लाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरूको शिर उँचो भएको बताए। उनले १२ खर्बभन्दा बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाएको बताए।

उनले भने, ‘यसले हाम्रो पनि शिर ठाडो हुने र समाजप्रतिको हाम्रो दायित्व पनि स्पष्ट हुने विश्वास छ। सार्वजनिक यातायात सबै निजी क्षेत्रबाट नै सञ्चालन भएको छ‚’ उनले भने, ‘यसमा १२ खर्बभन्दा बढी लगानी भएको छ भने १५ लाख प्रत्यक्ष श्रमिकले रोजगार पाउनुभएको छ।’

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरिका स्वास्थ्य स्वयंसेवीकाका लागि आफ्नो जिल्लामा निःशुल्क यातायात चढ्न पाउने हुँदा खुशी लागेको बताइन्।

उनले लामो समयपछि महिला स्वयंसेवीकाहरुलाई बल्ल जग खनेर बसोवास सुरु भएको जस्तो महसुस भएको बताइन्।

उनले ५२ हजार महिला स्वास्थ्य स्वयंसेवीकाले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गरिन्। उनले महिला स्वयंसेवीकालाई खटिएको दिनको २ हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गरिन्।

स्वास्थ्य स्वयंसेवीकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कात्तिक १५ गते सुरु हुनेछ। यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख छ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:००
Weather Update