News Griha :: न्यूजगृह
यी दुई काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल

काठमाडौं— नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले दुई वटा काम गर्नका लागि कार्यदल गठन गरेका छन्।

ज्ञापन पत्र बुझाउन र संसद्को विशेष अधिवेशन बोलाउन तयारी गर्न कार्यदल गठन गरिएको रास्वपा नेता शिशिर खनालले जानकारी दिए।

बाढीपहिरो पीडितको पुनर्स्थापनामा सरकार गम्भीर रूपमा नलागेको बैठकले निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाबाट सांसद शिशिर खनाल, एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राप्रपाबाट एक जना रहनेछन्।

कार्यदलले ज्ञापन पत्र आइतबारसम्म तयार गर्ने र कात्तिक ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरेको छ। साथै कार्यदलले संसद्को विशेष अधिवेशन बोलाउन तयारी पनि सँगसँगै अघि बढाउने भएको छ।

सरकारले साना पार्टी विभाजन गर्न अध्यादेश ल्याउन सक्ने आशङ्का विपक्षी दलहरूको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउन सक्ने कुरा बैठकमा बताएका थिए।

अध्यादेश ल्याउन रोक्न संसद्को अधिवेशन बोलाउन माग गर्ने तयारीमा विपक्षी दलहरू छन्। रास्वपाले संसद्को अधिवेशन बोलाउन माग गर्दै अन्य दलहरूको पनि साथ खोजेको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकमा सत्तामा रहेका लोसपा र नाउपाका अध्यक्ष पनि सहभागी रहेका थिए।

बैठकमा अध्यक्ष दाहाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतबीच छलफल भएको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:१९
Weather Update