News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत
प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं— सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथाशक्य चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।

बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

'सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ,' बालुवाटार स्रोतले भन्यो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी थिए ।

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्‌बाट पारित भइसकेको छ । उक्त विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:२८
Weather Update