News Griha :: न्यूजगृह
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौं— बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध एअरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्,’ बुद्ध एअरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एअरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए।

‘आजको माउन्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौं फर्किंदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो। माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौं फर्किंने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो।’

कर्णले जहाजमा ३५ यात्रु सवार रहेको जानकारी दिए। ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्लाइट गराइने उनले बताए। ‘अर्को माउन्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा हामी फिर्ता गर्छौं,’ प्रवक्ता कर्णले भने।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १०:४१
समसामयिक
Weather Update