News Griha :: न्यूजगृह
मौसम अनुकूल भएपछि एकैदिन ६९० पर्यटक लुक्ला पुगे
लुक्ला विमानस्थल। फाइल तस्बिर

सोलुखुम्बु— मौसम अनुकूल भएसँगै काठमाडौं र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६ सय ९० पर्यटक लुक्ला पुगेका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौंमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका छ सय र काठमाडौंमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । 

गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकले लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाईसेवा प्रमुख माध्यम हो । 

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०६:२२
Weather Update