News Griha :: न्यूजगृह
सरकार लगभग दुई तिहाइको भन्ने हेक्का रहोस्, खरानीको डल्लो होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली ६९ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेस गठबन्धनको सरकार परिवर्तनको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । दसैँपछि सरकार परिवर्तन हुन्छ भन्ने कुरा चलेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता कुरा भ्रम भएको र ती भ्रमहरूमा नपर्न आग्रह गरेका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको भ्रम नछर्न र त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गरेका थिए ।

‘नेपालको राजनीति, नेपालको समाज, नेपालको अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,’ ओलीले भने, ‘एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।’

सरकार परिवर्तनको विषयमा हल्ला चलेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘विभिन्न प्रकारका कुनाकाप्चाबाट पनि आवाज आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु– अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्प्रोमाइज (सम्झौता) हुन सक्दछ । तर प्रणालीको कुरामा हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुन सक्दैन,’ ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन्, चुनावका माध्यमबाट ।’

चुनाव बाहिरबाट सरकार र प्रणाली परिवर्तनको कुरा स्वीकार्य हुन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो । अलोकतान्त्रिक कुरा हो । यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन,’ उनले भने, ‘म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि, कुनै पनि प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दसैँपछि ? २०८४ सालको दसैँपछिको चुनावमा? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु– मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा ।’ 

२०८४ सालमा निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने र त्यसपछि जसले जितेर आउँछ त्यसले सरकार गठन गर्ने पनि ओलीले स्पष्ट पारे ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:३५
Weather Update