News Griha :: न्यूजगृह
 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर दिलबहादुर बडुवालको मृत्यु

काठमाडौं— विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु भएको छ। असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको हो।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका ५ आईटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो। सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए।

पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो। सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो।

सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज सोमबार बिहान उनको मृत्यु भएको हो।

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्‍टि गरिनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १६:१०
Weather Update