News Griha :: न्यूजगृह
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौं—  आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन्।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो। महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ।

निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजन कहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरू हतारहतार हिँडिरहेका छन्।

मङ्गलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ। कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०९:१०
Weather Update