काठमाडौं— हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोशी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै ती प्रदेशमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
सोमबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको समेत सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाको छ। देशका बाँकी भूभागमा राति आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
पोस्ट मनसुन सिजन सुरु
देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ। उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ।
समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ। नेपालबाट मनसुन हिजो असोज २६ गते पूर्ण रूपमा बाहिरिएको हो। मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।
यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो।