
काभ्रे — सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका प्रमुख सुमन योगेशका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो साढे २ बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन्। सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो।
त्यस्तै, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख। ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्याएको थियो। दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।