News Griha :: न्यूजगृह
आज महाअष्टमी र महानवमी, नवरात्रको अन्तिम दिन

काठमाडौं— बडादसैँको महाअष्टमी र नवमी आज एकैदिन परेको छ। विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष पण्डित नारायणप्रसाद दुलाल बताउँछन्।

यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ। पशुबलि नदिने र शाकाहारीहरूको भने महानवमीका दिन कुभिण्डो, घिरौला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०६:३५
Weather Update