News Griha :: न्यूजगृह
बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आउने

काठमाडौं— बीपी राजमार्ग शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। त्यसका लागि फूलपातीको दिन पनि सडक बनाउने काम तीव्रगतिमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सचिव केशवकुमार शर्मा नेतृत्वको टोलीले बिहीबार बिहानै बाढीले बगाएको राजमार्गका विभिन्न खण्ड हेरी डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउन लागिएको हो। 'हामी फिल्डमै छौँ, यहाँ युद्धस्तरमा काम भइरहेको छ,' उनले भने, 'कुनै समस्या आइनपरे शुक्रबार दिउँसोबाट सडक सञ्चालनमा आउने छ।'

उनका अनुसार सबैतिरबाट मेसिन र प्राविधिक जम्मा गरेर काम गराइएको छ। 'कान्ति राजमार्ग केही दिनअघि सञ्चालनमा ल्यायौँ,' उनले भने, 'त्यहाँको मेसिन यता ल्याएर काम गरिएको छ।' कतै खोलो तर्काएर त कतै एकतर्फी रुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ।

उक्त राजमार्गको काभ्रेभन्ज्याङ-नेपालथोक खण्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ। यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छन्।

पूर्व र तराईका लागि यही सडक भएर सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका छन्। सडक बन्द भएपछि यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गरेर गइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १९:५१
Weather Update