
काठमाडौं— काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो।
'नो हर्न' लाई अभियानकै रूपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँस लगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो। सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरूमा क्रमशः हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात् कडाइका साथ कारबाही समेत ट्राफिक प्रहरीले गर्दै आएको छ।
सवारी साधनले अनावश्यक रूपमा हर्न बजाएर वृद्धि हुने ध्वनि प्रदूषणलाई निरुत्साहित गरी प्रदूषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए।
जथाभावी हर्न बजाउँदा पैदलयात्री विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरूलाई समेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डीआईजी बोहराले बताए।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरूले हर्न बजाउन सुरु गरेका छन्। गत आव ०८०र८१ मा अनावश्यक रूपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस वर्ष समेत नौ हजार आठ सय तीस सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।
सामान्य मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनि स्वीकार योग्य हुन्छ भने ७० डेसिबलको ध्वनि स्वास्थ्यको लागी हानिकारक हुन्छ।दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरू भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।